काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि बुधबार फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो। यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ।
पुसमा राष्ट्र बैंकले यो पाँचौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते अपरान्ह २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन्।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति भने पुस २५ गतेसम्म छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने पनि केन्द्रीय बैंकले बताएको छ।
यस अघि राष्ट्र बैंकले पुस १ र ३ गते १०/१० अर्ब तथा पुस ४ र ६ गते २५/२५ अर्ब निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तानेको थियो। गत मंसिर महिनामा भने राष्ट्र बैंकले ८ पटक गरि बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।



