काठमाडौँ : इलाममा सञ्चालित सुपर माई हाइड्रोपावरको उत्पादन स्थानीय बासीले बन्द गराएका छन्। हाइड्रोपावरले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र आफ्नो माग सम्बोधन नगरेको भन्दै स्थानीय बासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन्।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माई खोलामा हाइड्रोपावर सञ्चालित छ। स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए। हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि एक्स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटक पटक झुकाएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनको भनाइ छ। ‘खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत हाइड्रोले छोडेको छैन,’ उनले भने।
सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि एक्स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो। माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत एक्स्काभेटर उपलब्ध गराएको छैन। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।
हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताएका छन्। उनले हाइड्रोको गेटसमेत स्थानीयले बन्द गरेको जानकारी गराए। उत्पादन बन्द भएपछि हाइड्रोपावरले दैनिक पाँच लाख बढी घाटा व्यहोरिरहेको उनको भनाइ छ। हाइड्रोपावर ७.८ मेगावाट क्षमताको हो।



