बागलुङ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएको छ। बागलुङ नगरपालिका–१२ अमला चौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो। बागलुङ उद्योग वाणिज्य सङ्घले अध्यक्ष ढकाललाई व्यावसायिक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो।
आइएमई ग्रुपका अध्यक्षसमेत रहनुभएका ढकालले व्यावसायिक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उहाँलाई सम्मान गरिएको हो। सामान्य परिवारमा जन्मिनुभएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको हो। अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा अध्यक्ष ढकालसँगै बागलुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ। शेरचन प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। उहाँहरू दुवै जनाले बैङ्किङ लगायतका क्षेत्रमा लगानी गर्नुभएको छ। बागलुङ महोत्सवको सुरुआतदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरूलाई पनि सङ्घले सम्मान गरेको छ। सम्मानित हुनेहरूमा सहदेव राज भण्डारी तथा पूर्व अध्यक्षहरू क्रमशः ध्रुवराज गौतम, वसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राज भण्डारी रहनुभएको छ।
कोरोना सङ्क्रमणका कारण बागलुङ महोत्सव चार वर्षपछि आयोजना गरिएको हो। आजदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो।