काठमाडौँ : हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पुस १३ गतेदेखि लिलाम बिक्री खुल्ला हुने भएको छ। कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राख्न लागिएको हो।
इच्छुक व्यक्ति तथा सङ्घसंस्था लगानीकर्ताले गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले पुस २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ।
प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्ने गरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रबन्धकले जनाएको छ। न्यूनतम १ सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ। बिक्री प्रबन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पुँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो। जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो।कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।



