काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटही सुविधा बढाएको छ। केन्द्रीय बैङ्कले आज बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र–२०७९ संशोधन गर्दै विदेशी मुद्रा सटही सुविधा बढाएको हो।
नयाँ संशोधित व्यवस्था अनुसार अब उच्च शिक्षा हासिल गर्न जाने नेपालीहरूका लागि क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरूका लागि १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैङ्कले जनाएको छ। यसअघि विद्यार्थीहरूलाई १० हजार डलरसम्मको सटहीको सुविधा दिइएको थियो।
यसका साथै राष्ट्र बैङ्कले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गरिने सटही सुविधाको दायरा समेत बढाएको छ। बैङ्कले जापान,दक्षिण कोरिया,युरोप महादेश,अमेरिका र क्यानडामा रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत अधिकतम ५०० डलरको सटही सुविधाको व्यवस्था गरेको छ। यसअघि जुनसुकै देश जानेका लागि पनि २०० अमेरिकी डलरको सटही सुविधा थियो।



