काठमाडौं : सेयर बजारमा लगातार दोस्रो दिन बुधबार पनि घटेको छ । बुधबार नेप्से २.०६ प्रतिशतले घटेर १८४९.७९ विन्दुमा रोकिएका्े छ। मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो। २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ। बुधबार सबै उपसूचकहरु राताम्य भएको छ।
पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन्। बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ। बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरु रुष्ट छन्। लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ।
बुधबार पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ % भन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ % भन्दा बढी घटेको छ। बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ। यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ।
घट्दो बजारमा समेत आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेको छ। माइखोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड, पिपुल्स पावर फण्डसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।
युनिलिभर नेपालको मूल्यमा नकारात्मक सर्किट लागेको छ। एसियन हाइड्रो, यूनिक नेपाल लघुवित्त, दोर्दी खोला जलविद्युतसहितका धितोपत्रको मूल्यमा समेत धेरै गिरावट आएको छ। प्रभु बैंकको प्रमोटर सेयर धेरै कारोबार भयो। शिवम् सिमेन्ट पनि धेरै कारोबार हुनेमा छ।



