काठमाडौँ : पछिल्लो दिन काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। हाल देशका कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।
यस्तै, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ।
महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



