काठमाडौँ : नेपाल एसबिआई बैंकको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको छ।
साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लि.” को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्यो। सभा पौष १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो। सभाले बैङ्कका शेयरधनीहरुलाई ३.७५% बोनस सेयर र ६.८०% नगद लाभांश (कर सहित) गरी चुक्ता पुँजीमा जम्मा गरी १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।
उक्त साधारण सभाले आ.व. २०८०/८१ मा बैंकको लेखा परीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्याय एन्ड कं, चार्टर एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ। साथै, उक्त सभाले बैंकको प्रबन्ध पत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैङ्क तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ।



