२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी गर्दै गैँडाकोटका किसान 

images

  • २०८० पुस १४, शनिबार
  • 1.1K
    SHARES
  • बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी गर्दै गैँडाकोटका किसान 

    नवलपरासी : नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गर्नु भएको छ। विगत १५ वर्षदेखि बेमौसमी मकै खेती गर्दै आउनु भएका उहाँले हिउँदे मकै खेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ ।

    रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकै खेती गर्दै आउनुभएका उहाँले हिउँदे मकै बिक्री गरी एउटा याममा  चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ। 

    “बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ।” 

    बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकै मात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकै खेती गर्दै आएको गैँडाकोटकै सरस्वती सापकोटाले बताउनुभयो। व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने उहाँले बताउनुभयो।

    हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुने गरेको सडक किनारमा मकै पोलेर बेच्दै आउनुभएकी स्थानीय सावित्री शर्माले बताउनुभयो। “प्रतिघोगा रु पाँचदेखि रु दशमा खरिद गरेर रु २० देखि रु २५ मा पोलेको मकै बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो। 

    गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा बिक्रीका लागि पठाउने गरिएको छ। जिल्ला बाहिर नारायण घाट, बुटवल, काठमाडौँ, पोखरा लगायत मुख्य सहरमा मकै बिक्री गर्न लैजाने गरेको स्थानीयले बताएका छन्। 

    गैँडाकोट–६, ७ र ८ वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजु प्रसाद शर्माले बताउनु भयो। “गैँडाकोट–५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुने गरेको छ, बाह्रमास मकै उत्पादन हुनुभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो।

    गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ। प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताउनुभयो। “आर्थिक वर्ष २०७८/७९ मा प्रतिहेक्टर तीन सय ५० मेट्रिक टन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७९/८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको छ।”

    गैँडाकोटमा बर्खे मकै सात हजार तीन सय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको तथ्याङ्क छ। हिउँदको समयमा लगाएको हरियो मकै मात्र रु तीन करोड बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ