काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिवार देशव्यापी प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ।आम जनमानसमा वित्तीय साक्षरता तथा बैङ्किङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सात वटै प्रदेशका मुख्य मुख्य सहरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरेको हो।
यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दै छ। काठमाडौँमा आयोजित प्रभात फेरीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरू, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वित्तीय साक्षरता तथा बैङ्किङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभात फेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्य मुख्य सहरहरू परिक्रमा गरेका थिए। ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैङ्क हो।
बैङ्कले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।



