काठमाडौँ : गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ। शुक्रवार बालकुमारीमा भएको घटनापछि गृहले शनिवार एक विज्ञप्ति जारी गर्दै उनलाई मन्त्रालयमा फिर्ता बोलाइएको जानकारी दिएको हो। यस्तै, गृहले जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको छ।
‘ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भएको छ, साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ’, मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बालकुमारी घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको जनाएको छ। साथै मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गरेको छ। ‘यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ, उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै नागरिकहरूले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको ब्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ।’




