काठमाडौँ : सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज सो निर्देशन दिनुभएको हो। गृह मन्त्रालयले सोसम्बन्धी प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेस गर्नेछ।
सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उहाँको भनाइ छ। आयोगले सोमबारदेखि नै काम गर्नेछ।
मन्त्री ज्वालाले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आवश्यक निर्देशन दिइसक्नुभएको छ। भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा आवश्यक निर्णय गर्नेछ।”
बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। साथै मन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो। गृह मन्त्रालयले सोही दिन नै सो घटनाको छानबिनका लागि एक समिति गठन गरिसकेको छ। सरकारले शनिवार मात्रै ललितपुरका प्रहरी प्रमुख, ललितपुरका प्रमुख जिल्ला अधिकारी र इपिएस कोरिया शाखाका प्रमुखलाई छानबिन नसकिँदासम्मका लागि निलम्बन गरिसकेको छ।



