२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नारायणी र राप्तीमा नदीमा भेटिए २ सय ६५ गोही र ३ डल्फिन

images

  • २०८० पुस १७, मंगलबार
  • 1.3K
    SHARES
  • नारायणी र राप्तीमा नदीमा भेटिए २ सय ६५ गोही र ३ डल्फिन

    चितवन : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा २ सय ६५ घडियाल गोही र ३ वटा डल्फिन भेटिएका छन्। नारायणीमा तीन भालेसहित एक सय १३ र राप्तीमा तीन भालेसहित एक सय ५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार पुस १ गतेदेखि १५ गतेसम्म दुई नदीमा घडियाल अनुगमन गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका १० जना कर्मचारी अनुगमनमा खटिएको उहाँले जानकारी दिनुभयो।
     
    घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए। अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो। यहाँका २ नदीमा भाले गोहीको अभाव भएपछि वि सं २०७४ को पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो।
     
    हरेक वर्ष यसै समय नदीमा गोहीको अनुगमन गर्ने गरिन्छ। निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले अनुगमन गर्ने गर्दछ। अनुगमनका क्रममा देखिएका कमी कमजोरीलाई सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ। तिवारीका अनुसार आउँदो चैत–वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसारस्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ। त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ।

    सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोही संरक्षणका लागि प्रजनन केन्द्र स्थापना गरिएको हो। हरेक वर्ष नदीमा गोही छाडिने भए पनि भारत पुगेका गोही बाँधका कारण फर्किन नसक्ने भएकाले उल्लेख्य रूपमा वृद्धि हुन नसकेको उहाँको भनाइ छ। माछा मार्ने जालमा परेर, अनधिकृत रूपमा ढुङ्गा गिट्टीको उत्खनन लगायत मानवीय अतिक्रमणका कारण घडियाल गोही संरक्षणमा समस्या पर्ने गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ