काठमाडौँ : कामना सेवा विकास बैङ्क लिमिटेडको १७ औँ वार्षिक साधारण सभा मिति २०८० साल पुस १७ गतेका दिन नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ। बैङ्कको सञ्चालक समितिका अध्यक्ष सु दीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ।
उक्त साधारण सभाले आ.व. २०८०/०८१ को लेखा परीक्षण नियुक्ति गर्नको लागि बैङ्कको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एन्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभामा सेयर धनी महानुभावहरूले राख्नु भएको जिज्ञासाको जवाफ बैङ्कका अध्यक्ष सु दीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिनु भएको थियो।
शेयर धनी महानुभावहरूले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुँदै बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरू हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको तथा चालु आ.व.मा बैङ्कले शेयरधनीज्यूहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताउनुभयो। उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैङ्क सञ्चालक समितिका सदस्य भीम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो भने बैङ्कका कानुन विभाग प्रमुख श्री डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



