काठमाडौँ : साताको चौथो कारोबार दिन आज बुधवार दोहोरो अङ्कले बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक २७.९० अङ्क बढेर २०५८ विन्दुमा बन्द भएको छ। त्यसै गरी,आज सेन्सेटिभ इन्डेक्स ३.७६ अङ्क, फ्लोर इन्डेक्स १.८५ अङ्क तथा सेन्सेटिभ फ्लोर इन्डेक्स १.०७ अङ्क बढेको छ।
आज १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ भने होटेल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी तथा विकास बैङ्क, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज २०९ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य स्थिर रहेको छ।
आज ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सिनापुर मिनरल्स र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ भने नेपाल वेयर हाउजिङ्ग, सनराइज फोकस्ड इक्विटी फन्ड र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने लक्ष्मी लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.१० प्रतिशत घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। हिजो ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज सिनापुर मिनरल्स शीर्ष स्थान २६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढी तथा आइएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको करिब १५ करोड कारोबार भएको छ।



