२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लमजुङको दोर्दी गाउँपालिकामा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

images

  • २०८० पुस १८, बुधबार
  • 5.2K
    SHARES
  • लमजुङको दोर्दी गाउँपालिकामा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

    दोर्दी : लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ। लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो। तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानो बाबु सुनुवारले जानकारी दिनुभयो।

    नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ। प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। गाउँपालिकामा रहेको भेडी गोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

    पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ। यस बाहेक स्थानीयले तालिम समेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो।” बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङ्जाको भीर कोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ।

    प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन्। हालै मात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो। त्यसपश्चात् उनीहरूले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो। नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो।

    सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि हाइ अल्टिच्युड भने नभएको उहाँको भनाइ छ। नेपालमा हाइ अल्टिच्युड प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले उक्त विद्यालय महत्त्वपूर्ण हुने भट्टराईको विश्वास छ। “नेपालमा प्याराग्लाइडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्”, उहाँले भन्नुभयो। विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ