काठमाडौँ : नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपालबिच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले पुस १९ गते हस्ताक्षर गरेका हुन्।
टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रूपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुराउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ। दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ।
आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्त्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ। यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने छ।



