२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

images

  • २०८० पुस २१, शनिबार
  • 1.2K
    SHARES
  • रोग किराको असर: लमजुङमा घट्यो सुन्तला उत्पादन

    चिती : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। 

    बेँसीसहर नगरपालिका–११ चिती स्याउका भगवती पन्तले १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट लगाउनु भएको छ। उहाँले एक दशक अघि बर्सेनि रु ६ लाखदेखि रु ७ लाखसम्म आम्दानी गर्दै आउनुभएको थियो । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ। यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उहाँको भनाइ छ। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यति बेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताउनुभयो। 

    जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ। एक दशक अघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु २ करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए। ६-७ वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताउनुभयो। विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँ सहर, सिम पानी, भोर्लेटार, कुन्छा, गहते, दुरा डाँडा, राई नास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन्। 

    कृषि ज्ञान केन्द्रका  सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १ सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत आर्थिक वर्षमा जिल्लामा १ सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट ५ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भए पनि उत्पादन १ सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताउनुभयो।

    त्यस्तै, आव २०७८/७९ मा १ सय ८० हेक्टर क्षेत्रफलमा १ हजार २ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव २०७७/७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ   विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ।

    सुन्तलाको बोट तथा सुन्तलामा कत्ले कीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ। जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ