२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत

images

  • २०८० पुस २१, शनिबार
  • 1.1K
    SHARES
  • अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत

    चितवन : अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। चितवन उद्योग वाणिज्य सङ्घको ५७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो। 

    अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उहाँले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ भन्नुभयो। “उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उहाँले प्रश्न गर्नुभयो। नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो।  
     
    अर्थतन्त्रका समस्या पूर्ण रूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै  गएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन। पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ।” सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उहाँले बताउनुभयो। 
     
    बैङ्कहरूको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको  बताउँदै उहाँले भन्नुभयो “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैङ्कले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो। अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ।”
     
    फरक प्रसङ्गमा अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उहाँले त्यसमा राजश्वको पनि योगदान रहेको बताउनुभयो।
     
    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताउनुभयो। उद्योगी–व्यवसायी र विद्युत् प्राधिकरणबिचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास  गर्नुपर्नेमा जोड दिनुभयो। अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्ने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकार बिच वास्तविक सहकार्य हुनै पर्छ भन्नुभयो।
     
    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी–व्यवसायीको पक्षमा रहेका बताउनुभयो। त्यस अवसरमा आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो। उहाँलाई नगद रु ५१ हजार सहित सम्मानित गरिएको हो।
     
    दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारण सभा यही पुस २३ गते सम्पन्न हुनेछ। सङ्घको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरीष पन्तबिच प्रतिस्पर्धा हुँदै छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ