काठमाडौं : थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ का किसानहरुले उत्पादन गरेको आलु काठमाडौं पठाएको छ। आलु सङ्कलन गरी बिक्रीका लागि काठमाडौं पठाएको हो।
गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाडौं पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो।
आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाडौं पठाएको उहाँले बताउनुभयो। गाउँबाट सङ्कलन गरेको आलु काठमाडौमा रहेका थुलुङ दुधकोशी गाउँपालिकावासीलाई नै सुलभ मूल्यमा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ। पहिलो चरणमा २० मुरी आलु सङ्कलन गरेर पठाएको र माग अनुसार थप आलु पठाउने वडाध्यक्ष बस्नेतले बताउनुभयो।



