काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि दिउँसो देखि पश्चिमी बायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईमा हुस्स र कुहिरो लागेको छ।
यस्तै, आज दिउँसो कोसी र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। कोसी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोसी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।
महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।



