काठमाडौँ : चन्द्रागिरि नगरपालिका-४ पानी घाट नजिक हिमचुली सेतो पहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा घाइते ६ बर्सिया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो।
काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५ सय मिटर तल खसी दुर्घटना भएको थियो। अपराह्न १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ बर्सिया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका ४ वर्षीय प्रियान्स गौतम थिए। दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।



