काठमाडौँ : ज्योति विकास बैङ्कको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज पुस २९ गते आइतबार काठमाडौँको नक्सालमा सम्पन्न भएको उक्त सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन्। सभाले बैङ्कको सर्वसाधारण सेयर धनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ।
त्यस्तै, सभाले बैङ्कको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
बैङ्कको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैङ्कको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको बैङ्कको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
समीक्षा अवधिमा यस बैङ्कले नेपाल सरकारलाई राजश्वमा जम्मा ६२ करोड ७५ लाख रुपैयाँको उल्लेखनीय योगदान पुराएको छ। संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक वर्ग, कर्मचारी, नियामक निकाय, सेयर धनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैङ्क सदैव प्रतिबद्ध रहेको बताइएको छ।
हाल विकास बैङ्कको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। हाल बैङ्कले नेपालभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ।



