काठमाडौं: राष्ट्रिय सभाको बैठक शुक्रबारसम्म स्थगित भएको छ। बिहीबार राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलले अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १२ः२९ सम्मका लागि स्थगित गरेका हुन्।
बुधबारबाट राष्ट्रिय सभा र प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेबित्तिकै आज दोस्रो दिन पनि राजीनामा माग गरेका छन्।
एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पुर्याएको बताए । श्रेष्ठले भने, ‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ ।
उनले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताए। गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।



