काठमाडौँ : काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन्। उनीहरू आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन्। महानगरले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले विरोध गरेका हुन्।
महानगर प्रहरी प्रमुख राजु नाथ पाण्डेका अनुसार धर्म पथ, जुद्ध सालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध र वीर अस्पताल पछाडिको क्षेत्रका सडकमा पार्किङ गर्न निषेध गरिएको छ। महानगरले यसको विकल्पमा काठमाडौँ भ्यु टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ तर, व्यवसायीहरूले महानगरपालिकाको निर्णयले व्यापारमा असर पर्ने भन्दै सच्याउन माग गरेका छन्।
यसअघि महानगरपालिकाले दरबारमार्ग र झोँके क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ। सो क्षेत्रका व्यापारीहरू त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन।



