काठमाडौँ : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।
गत आर्थिक वर्षको तुलनामा दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
त्यस्तै,गत आर्थिक वर्षको तुलनामा दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क आर्जन पनि १२.३३ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो भने यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसै गरी, गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो।गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ।



