काठमाडौँ : आज सोमबार नेप्सेको कार्यालयमा रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको सेयरको सिलबन्दी आवेदन खोलिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार नेप्सेको कार्यालयमा निष्कासनमा कुल ६४ वटा आवेदन दिएका थियो जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा शेयर खरिदको लागि आवेदन गरेका थियो।
जस अनुसार कम्पनीको सेयरको कटअफ मूल्य भने ९१२ रुपैयाँ नै कायम भएको छ। ९१२ रुपैयाँमा आवेदन दिने सबैले समानुपातिक रूपमा शेयर पाउने छन्। ९१२ रुपैयाँ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै शेयर पाउने छन् भने ९१२ रुपैयाँमा आवेदन दिनेले आवेदन दिएको सेयरको ६५.७२ प्रतिशत शेयर मात्र पाउने छन्।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति सेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। यस सीमाको बिचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो। माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको हो।
सर्वसाधारणलाई निष्कासन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुटाउनु पर्ने प्रावधान छ। सोही अनुसार कम्पनीले कुल निष्कासन गर्न लागिएको शेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको हो।
सर्वसाधारण लगानीकर्तालाई कटअफ मूल्यमा १०प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था छ। यस हिसाबमा सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा पर्न जान्छ। रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ। सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो।
सर्वसाधारणले पाउने शेयरबाटै उद्योग प्रभावित क्षेत्र,कम्पनीका कर्मचारी,वैदेशिक श्रमिक,म्युचुअल फण्डलाई वितरण गरिने छ। योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ। शेयर निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक लगायत सिउने धागोहरू विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ। २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ।



