साउन १८, काठमाडौं : बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा रोकिएको छ। बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त, जीवन बीमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट भएको छ।
बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ ।
यता, निर्जीवन बीमा उपसूचक ०.४५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.५२ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ।
बजार परिसूचक नेप्सेको गिरावट रोकिएपनि कारोबार रकम भने निरन्तर घट्दो छ। लगातार चौथो दिन पनि कारोबार रकम २ अर्बबाट तल झर्दा बिहीबार पौने २ अर्बमा सीमित भएको हो ।
४० हजार ७७४ वटा कारोबारमा ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ९ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड ५५ लाख र आईसीएफसी फाइनान्सको ५ करोड २ लाखको कारोबार भएको छ।
बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये १३० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयरमूल्य बढेको छ। १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ। बिहीबार कारोबार भएकामध्ये सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। यस्तै, एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ।
यस्तै, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.८८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ७.२३ प्रतिशतले वृद्धि भएको छ। प्रोग्रोसिभ फाइनान्सको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशत र कामना सेवा विकास बैंकको सेयरमूल्य ४ प्रतिशतले गिरावट भएको छ।



