साउन २३, काठमाडौं :सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ।
संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो। बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्यायो। तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत हुनु भएन ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन। बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उहाँले बताउनु भयो।
अहिले बाढी पहिरो लगायतका विषयमा सांसदहरुले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको छ। यो बेला उपप्रधान तथा गृहमन्त्रीले सुन तस्करीबारे जवाफ दिए सुन्ने एमालेले बताएको छ।
एमाले सचेतक बर्तौलाले भने, ‘उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ। त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं।’ प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दै छ ।



