काठमाडौँ : आजबाट अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरको लिलामीमा नपरेको ११ अर्ब भन्दा बढी रकम लगानीकर्ताको खातामा फर्काइने भएको छ। कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको शेयर बापतको रकम फिर्ता भुक्तानी आज माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैङ्क/ वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने जनाएको छ। कम्पनीको लिलामी सेयरमा झन्डै १४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजदेखि क्रमशः सेयर नपरेका आवेदकहरूको बैङ्क खातामा पैसा फिर्ता गरिनेछ। बाँडफाँडको अन्तिम मूल्य (Cut-off Price) रु. १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले प्रस्ट पारेको छ भने त्यो भन्दा कम मूल्यमा आवेदन दिनेहरूले सेयर पाउने छैनन्।
हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो। यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले ती शेयरहरूले २०८०/०९/१३ गतेका दिन देखि २०८० /०९/२९ गते सम्म लिलाम गरेको थियो। सो अवधिभित्र प्राप्त सिलबन्दी बोलपत्रहरू २०८० माघ ५, ६ र ७ गतेका दिन खोली २०८० माघ १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।



