साउन २६,काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ। पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो।
नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो। तर यहाँ जस्तापाताका १२/१३ वटा संरचनाहरु निर्माण भएको छ, आज त्यो हटाइरहेका छन्।
यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको भट्टराईले जानकारी दिनु भयो। केही समय अगाडि काठमाडौं महानगरपालिका-वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो। सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको बताइएको छ।



