साउन ३०,काठमाडौं : सोलुखुम्बुको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ।
आइतबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–४ मा भालुको आक्रमणबाट एक युवक सख्त घाइते हुनुभएको छ। गोठमा जाने क्रममा भालुले आक्रमण गर्दा वहाँको घाँटी, अनुहार, टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिक त्रासैत्रासमा बित्ने गरेको छ।
वर्षभरि खान लगाएको मकै बाली जोगाउनदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्राम बस्नुपर्ने नगरपालिका–७ का चन्द्रमान श्रेष्ठले बताउनु भयो। हिजो आज मकै पाक्ने बेला भएकाले घर आँगनमै भालु आउँदा त्रासपूर्ण अवस्थामा बस्नुपरेको स्थानीयवासी बताउँछन्।
अन्नबाली सखाप पारिदिने भए पनि राज्यले नागरिकको सुरक्षा र हुने सम्भावित क्षतिको मूल्याङ्कन गरी सहयोग गर्ने सवालमा चुकेको स्थानीयवासीको भनाइ छ।



