भदौ ४,काठमाडौं : रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ।
लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो। कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको प्रहरी जनाएको छ।
दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको बताइएको छ। अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो।



