भदौ ७ ,काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विभिन्न पदमा रहँदा कानूनबमोजिम नै काम गर्ने गरेको बताउनु भएको छ । ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा गृहमन्त्री हुँदा गरेका काम कारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफूलाई हतकडी लगाउने कुनै ठाउँ नभएको दाबी गर्नु भएको छ ।
विरोधीहरुले सत्यका विरुद्धमा काम गर्छन् भन्ने आफूहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा उहाँको छ । अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाउनु भयो ।
उहाँले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्नेगरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको जिकिर गर्नु भयो ।
उहाँले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा राजस्वले छाडेको र अहिले क्वीन्टल सुन टक्सारमा आउदा ६० किलोमा झर्नु शंकास्पद रहेको बताउनु भयो । ओलीले विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन पनि यसअघि भन्सारबाटै गायब गरेको कुरालाई एमालेले उठाउदा विषयान्तर गर्न खाजिएको तर्क गर्नु भयो ।



