काठमाडौँ :साताको चौथो कारोबार दिन आज बुधवार नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.९२ अङ्क बढेर २०९०.६४ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ०.१२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अङ्क बढेको छ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा२४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, हाथ्वाए इन्भेष्टमेन्ट कम्पनीको ६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ। आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज पनि समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल, इष्टर्न र एसियन हाइड्रोपावर रहेका छन्। त्यसै गरी, आज पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.२५ प्रतिशत घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। हिजो २ अर्ब ५९ करोड १५ लाखको शेयर कारोबार भएको बजारमा आज ३१३ कम्पनीको ६५ हजार ४ सय ६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर कारोबार भएको छ।



