भदौ ९,काठमाडौं :सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको बताउनु भएको हो ।
सदनमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी उक्त बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको भनाई छ ।
अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको स्पष्ट पार्नु भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दैै उहाँले पार्टीलाई बिजोग बनाएर आफूले राष्ट्रपति बन्न नचाहेको बताउनु भयो ।



