भदौ १०, काठमाडौं :नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण उत्पन्न भएको उहाँले उल्लेख गर्नु भएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीका कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताउदै उहाँले एमसीसी अमेरिकाले खडा गरेको ‘इन्डोप्यासिफिक स्ट्राटेजी’ भएको बताउनु भयो ।
एमसीसी संसद्बाट अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनिए पनि त्यसलाई अमेरिकाले नमान्ने उहाँको भनाई छ । उहाँले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागु नगरेको जिकिर गर्नु भयो ।
५०० मिलियन डलर मात्र नभइ ५५ अर्ब दिए पनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने उहाँले चेतावनी दिनु भयो। नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उहाँको भनाई छ ।



