काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ। गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ। आयोजनाको विद्युत् सुक्खा याम (मङ्सिर १५ देखि जेठ १५ सम्म) ८ रुपैयाँ ४० पैसा र वर्षा याम (जेठ १६ देखि मङ्सिर १५ सम्म) का लागि ४ रुपैयाँ ८० पैसामा खरिद गरिनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दश मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रण (जेनेरेसन मिक्स) का आधारमा तय गरिएको पिपिए सीमा (कोटा) लागू नहुने व्यवस्था गरिएको बताउनुभयो। स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानीलाई जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।
“कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए हुन सकिरहेको थिएन। अब १० मेगावाटसम्मका आयोजनालाई उक्त कोटा लागू नहुने भएकाले जहिले र जति क्षमताको भए पनि पिपिए गर्न सकिन्छ। यसले स्वदेशी साना लगानीकर्तालाई प्रोत्साहन गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “अब ग्रिड आबद्ध सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएका र हुने दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए जति र जहिले पनि गर्ने छौँ।”
हालसम्म दश मेगावाटसम्मका ८९ आयोजनाले पिनिएका लागि प्राधिकरणमा निवेदन दिएका छन्। आयोजनाको क्षमता ३ सय ५१ मेगावाट छ। त्यसमध्ये, १ सय ९५ मेगावाटका ४४ आयोजनासँग ग्रिड आबद्ध सम्झौता सम्पन्न भइसकेको छ। आगामी १० वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० प्रतिशत र नदी प्रवाहमा आधारित आयोजनाको ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो। सोही आधारमा पिपिएको सीमा तय गरिएको थियो।
आरओआर आयोजनाका लागि तय गरिएको अर्थात् ६ हजार ७ सय ५० मेगावाट सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पिपिए हुन सकिरहेको थिएन। १० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन्। प्राधिकरणले हालसम्म ९ हजार २ सय मेगावाटको पिपिए गरिसकेको छ।



