काठमाडौं : देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने क्रममा इन्टरनेट सुविधा उल्लेख्य रूपमा बढेको हो।
मन्त्रालयका अनुसार हाल २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि तथा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला सञ्चालनमा छन्। डिजिटल शिक्षालाई प्राथमिकता दिँदै विद्यालय तहमा प्रविधिको पहुँच विस्तार गर्ने कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
विसं २०७७ देखि सञ्चालनमा रहेको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत देशभर चार हजार ६ सय ८ विद्यालयमा आईसीटी ल्याब निर्माण गरिएको छ। यस कार्यक्रममार्फत विद्यालयमा डिजिटल शिक्षाका लागि आवश्यक पूर्वाधार विकासमा सहयोग पुगेको मन्त्रालयको भनाइ छ।
विद्यालयमा विद्युत्को पहुँच विस्तारतर्फ पनि काम भइरहेको छ। वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् सुविधा पुगेको मन्त्रालयले जनाएको छ। देशभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार ९ सय ५१ विद्यालय सञ्चालनमा छन्। तीमध्ये २७ हजार १० वटा सामुदायिक विद्यालय रहेका छन्।
यसैगरी, २०७२ सालको भूकम्पपछि विद्यालय पुनर्निर्माणको काम पनि अघि बढाइएको छ। भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत हालसम्म ७ हजार ६ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन अवस्थामा छन्।
पश्चिम नेपालमा भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण पनि सरकार र विभिन्न विकास साझेदारको सहकार्यमा भइरहेको छ। मन्त्रालयका अनुसार त्यस्ता २ सय १६ विद्यालयको पुनर्निर्माण कार्य जारी छ।
यस्तै, २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माणको काम अघि बढाइएको छ। विद्यालयमा प्रविधि, विद्युत् तथा भौतिक पूर्वाधारको पहुँच विस्तारसँगै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।