काठमाडौँ : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी तथा नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा चण्डिका प्रसाद भट्टलाई नियुक्त गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको महसुल सम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको बताउनु भयो ।
त्यस्तै, बैठकले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ भने सरकारले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने पनि निर्णय गरेको छ।
यसै गरि, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने, राष्ट्रिय प्रसारण १२औँ संशोधन नियमावली, २०८० स्वीकृत गर्ने, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्तै, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ भने प्रवक्ता शर्माका अनुसार सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य-सचिवमा डा. प्रमोद जोशीलाई नियुक्ति गरेको छ।



