काठमाडौँ : भजन शिरोमणि उपाधि पाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ। सोमबार अपरान्ह अक्सिजन लेभल अचानक कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।
८२ वर्षीय आचार्य विगत लामो समयदेखि बिरामी रहेका थिए । चार सय भन्दा गीतमा स्वर तथा सङ्गीत दिएका आचार्यले कैयौँ भजनहरू गाएका छन्। उनले गाएका हजार सपनाहरूको माया लागेर आउँछ, हजार आँखा हेर्ने मेरी मायालु, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा लगायत गीतहरू कालजयी रूपमै गुन्जिरहेको पाइन्छ।
आचार्यको पार्थिव शरीरलाई मङ्गलवार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ। आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।



