२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँ महानगरपालिकाद्धारा ‘महानगर पुस्तकालय’ सञ्चालन गर्दै

images

  • २०८३ असोज १९, सोमबार
  • 216
    SHARES
  • काठमाडौँ महानगरपालिकाद्धारा ‘महानगर पुस्तकालय’ सञ्चालन गर्दै

    महानगर पुस्तकालय सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका, पठन संस्कृतिमा नयाँ उत्साह

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले धर्मपथस्थित येँ दे सांस्कृतिक छेँमा ‘महानगर पुस्तकालय’ सञ्चालन गर्ने भएको छ। पुस्तकालयलाई परम्परागत रूपमा पुस्तक राख्ने र पढ्ने स्थानमा सीमित नगरी ज्ञान, नवप्रवर्तन, अनुसन्धान तथा सामुदायिक सिकाइको केन्द्रका रूपमा विकास गर्ने महानगरपालिकाको तयारी छ।

    महानगरपालिकाको बैठकमा शिक्षा विभागका प्रमुख नमराज ढकालले पुस्तकालय सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय पक्षमा काम भइरहेको जानकारी दिनुभयो।

    बैठकमा सहरी योजना आयोगका सहायक विज्ञ प्रदीप बज्राचार्यले पुस्तकालयको अवधारणाबारे प्रस्तुतीकरण गर्दै महानगर पुस्तकालयलाई ज्ञान केन्द्र, नवप्रवर्तन केन्द्र, सामुदायिक सिकाइ स्थल, सांस्कृतिक सम्पदा अभिलेखालय, डिजिटल सिकाइ केन्द्र तथा अनुसन्धान र सूचना केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।

    महानगरपालिकाले पुस्तकालयको सेवा वडा तहसम्म विस्तार गर्ने योजना पनि अघि सारेको छ। यसका लागि विभिन्न वडामा ‘रिडिङ कर्नर’ स्थापना गर्ने तथा विद्यालयमा आधारित सामुदायिक पुस्तकालय र अन्य संस्थागत पुस्तकालयलाई समेत महानगरीय पुस्तकालय प्रणालीसँग जोड्ने तयारी गरिएको छ।

    प्रस्तावित एकीकृत सञ्जालमार्फत महानगरवासीले एउटै ‘महानगरीय पुस्तकालय कार्ड’ प्रयोग गरी विभिन्न पुस्तकालयबाट पुस्तक लिन सक्ने, अध्ययन कक्ष तथा इन्टरनेट सुविधा उपयोग गर्न सक्ने र विभिन्न सामुदायिक तथा शैक्षिक कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिनेछ।

    काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको पहिचान र छविसँग जोडिएका संरचना भएकाले यस्ता संरचनाको स्थापना तथा सञ्चालन महानगरपालिकाले आफैँ गर्ने बताउनुभयो।

    महानगरपालिकाले पुस्तकालयलाई केवल पुस्तक पढ्ने ठाउँ नभई नागरिकको ज्ञान, सीप, सिर्जनशीलता र अनुसन्धानलाई प्रवर्द्धन गर्ने सार्वजनिक संस्थाका रूपमा विकास गर्न खोजेको हो। वडा तहसम्म पुस्तकालय सेवा विस्तार गर्ने योजनाले राजधानीमा कमजोर हुँदै गएको पठन संस्कृतिलाई पुनर्जीवित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ