काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताउनु भएको छ। मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालको संविधानमा उल्लेख भएर अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताउनुभयो।
मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छ। पैसा तिर्न नसकेर कोही बिरामीलाई आत्महत्या गर्न नपरोस्।”
स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालयमा कार्यरत कर्मचारी समायोजनका लागि ८ सय कर्मचारीको काज फिर्ता गरेर स्थानीय तहमा पठाइएको बताउनुभयो। उहाँले वीर अस्पतालमा भिआइपी व्यक्तिको उपचार सेवा सञ्चालन गरेपछि पछिल्लो समय उच्च पदमा रहेका व्यक्ति विदेशमा औषधि गर्न नगएको उल्लेख गर्नुभयो।
स्वास्थ्य क्षेत्रमा विसं २०५४ देखि नयाँ दरबन्दीमा जनशक्ति भर्ना नगरेको र आफूले अब ३० हजार नयाँ जनशक्ति थप्नका लागि छलफल गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको विस्तारका लागि एकीकृत स्वास्थ्य सेवा ऐनमा छिटो जानुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षाका लागि स्वास्थ्यकर्मी सुरक्षा ऐन प्रदेश र स्थानीय तहलाई जानकारी दिनुपर्ने बताउनुभयो।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु भएको ५ जना कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गरेको छ। रु १ लाख राशि रहेको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालमा कार्यरत वरिष्ठ अनमी बबिता विष्टले प्राप्त गर्नुभएको छ। त्यसै गरी, रु ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कारमा कालिकोट जिल्लामा कार्यरत दीर्घ बहादुर नेपाली, बारा जिल्लामा कार्यरत किरण कुमारी, सुर्खेत अस्पताल डा केसरबहादुर ढकाल र फार्मेसी निरीक्षक सुष्मा थपलियाले प्राप्त गर्नुभएको छ।



