असोज १३, काठमाडौं : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ।
गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ। निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित हुनुभएको छ।
एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिनुभएको थियो। अधिवेशनमा कूल प्रतिनिधि १ हजार १ सय ७२ रहेकामा १ हजार १ सय ३१ ले मतदानमा भाग लिएका थिए।
अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिनुभएको थियो। यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो।
सचिवमा सिलवाल एक मतले विजयी भएका हुन्। सिलवालले ५६८ मत ल्याउँदा अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन्। उनले ६१५ मत प्राप्त गरेका छन् भने महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन्। त्यस्तै, पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्।



