काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेपछि मतगणना सुरु गर्ने समय तय गरेको हो।
बैठकमा सहभागी महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले दिउँसो ३ बजेदेखि उपसभापति पदको मतगणना सुरु हुने जानकारी दिएका छन्। उनका अनुसार उपसभापति पदको मतगणना सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै महामन्त्री पदका लागि खसेका मतपत्र गणना गरिनेछ।
यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको नतिजालाई लिएर राजनीतिक चासो बढेको छ। मतगणनाको अन्तिम परिणामपछि महामन्त्री पदको प्रतिस्पर्धाले पनि थप गति लिने अपेक्षा गरिएको छ।