२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

images

  • २०८० असोज १६, मंगलबार
  • 1.2K
    SHARES
  • मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

    असोज १६, काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरूले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसद् मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

    आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो। “पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ। त्यो सकारात्मक छ।

    तर पछिल्लो तीन महिनामा महँगी अत्यन्त बढेको छ”, उहाँले भन्नुभयो, “चाडबाडको समयमा बजारमा गोलभेँडा, चिनी, चामलजस्ता उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ। काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन्।” बजार अनुगमन प्रभावकारी बनाउन उहाँले संसद् मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो।

    सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताउनुभयो। सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्नुहुँदै उहाँले यसको मुख्य कारण कालोबजारी र कमिसन तन्त्र रहेको बताउनुभयो । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने उहाँको माग छ।

    सांसद गगनकुमार थापाले चिकित्सकमाथि भइरहेको आक्रमणको निन्दा गर्नुहुँदै स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। आन्दोलनरत चिकित्सक र सरकारबिच सम्झौता भएको २४ घण्टा नबित्दै चिकित्सकमाथि फेरि आक्रमण हुनु निन्दनीय रहेको बताउनुहुँदै थापाले उहाँहरूका जायज माग र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गम्भीर भएर तत्काल कानुनी तथा संरचनागत सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

    सांसद किरणकुमार साहले चिकित्सकमाथि भइरहेको आक्रमण र विभिन्न स्थानमा घरेलु हिंसा भइरहँदा सुरक्षा प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो। सांसद गोमा लाभ (सापकोटा)ले खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको बताउनुभयो। अहिले मधेस प्रदेशमा दैनिक आठ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उहाँको भनाइ छ।

    सांसद जुनीकुमारी महतो महासेठले मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको बताउनुभयो। प्रतिनिधिसभाको आजको बैठकमा सांसद एकनाथ ढकालले सिंहदरबार क्षेत्रमा रहेको नेपालको पहिलो संसद् भवन जीर्ण अवस्थामा रहेकाले त्यसको पुनः निर्माणका लागि माग गर्नुभयो।

    “सिंहदरबारस्थित नेपालकै पहिलो संसद् भवन वर्षौँदेखि बेहाल छ। जीर्ण अवस्थामा रहेको एक सय वर्ष पुरानो राणाकालीन भवनको उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै भएको छ। भित्तामा झारपातले जेलिएको छ”, उहाँले भन्नुभयो, “विसं २०१५ मा पहिलो पटक संसद् बैठक बसेको यो भवनलाई पुनः निर्माण गरेर पुरातात्त्विक महत्वको भवनका रूपमा संरक्षण गर्नुपर्छ।”

    सिंहदरबार क्षेत्रभित्रकै निर्माणाधीन संसद् भवन तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेकोबारे पनि उहाँले संसद् मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद ऐनबहादुर शाहीले केही समयअघि मुगुको गमगढीमा आगलागीबाट आठ घर नष्ट भएकोमा पीडितलाई राहतका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो।

    सांसद गणेश पराजुलीले उपत्यकाभित्रका सडक निकै साँघुरा भएकाले त्यसलाई विस्तार तथा मर्मत सम्भार गर्नुपर्नेमा जोड दिनुभयो। उपत्यकाभित्रका बाटो विस्तारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने उहाँको माग छ। अरनिको राजमार्ग निर्माण र विस्तारका काममा ढिलाइ भइरहेको विषय सांसद गोकुल बाँस कोटाले आजको बैठकमा उठाउनुभयो।

    त्यो राजमार्ग विस्तार र निर्माणमा ढिलाइ हुँदा त्यहाँ दुर्घटना बढेको उहाँको भनाइ छ। सांसद छिरिङ डम्डुल लामा भोटेले बाढी र पहिरोका कारण हुम्लाको रिप गाउँ निकै नै जोखिम अवस्थामा रहेकाले स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो। सांसद अशोककुमार चौधरीले तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको बताउनुभयो।

    सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उहाँको भनाइ छ। सांसद कालु राम राईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषय संसदमा उठाउनुभयो। अर्का सांसद सांसद गीता बस्नेतले मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएको र महिलाले असुरक्षित महसुस गरिरहेको धारणा राख्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ