काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि महरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले हाजिरी जमानतमा रिहा गरेको हो। महरालाई चैत ५ गते कपिलवस्तुको धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। यस अघि स्वास्थ्य स्थितिमा समस्या देखिएको भन्दै उनलाई अस्पतालमा राख्न अदालतले आदेश दिएको थियो।
सिआइबीले महराको बयान सकिएपछि स्वास्थ्यको कारण देखाउँदै हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारी वकिलसँग अनुमति मागेको थियो। सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई कारवाहीका लागि मुद्दा चलाउन सिफारिस गरिएको छ। महराका छोरा राहुल महरा पनि भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग मिलेर संगठित तस्करी गरेको आरोपमा थुनामा रहेका छन्।



