२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण

images

  • २०८१ असार ३१, सोमबार
  • 386
    SHARES
  • नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण

    काठमाडौँ : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । 

    पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताउनुभयो । उहाँले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “काम गर्ने ठाउँमा आएको छु । विज्ञहरुसँग आवश्यक सुझाव लिएर अगाडि बढ्छु”, मन्त्री पौडेलले भन्नुभयो– “एकीकृत स्वास्थ्य प्रणाली सुदृढ बनाउन मेरो जोड रहनेछ ।” मन्त्री पौडेलले छिटोछरितो ढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ आफू कन्द्रित रहने उल्लेख गर्नुभयो ।  

    मन्त्री पौडेलको राजनीतिक यात्रा

    नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको जन्म २०३१ चैत १४ गते आमा दुर्गादेवी र बुवा डिल्लीरमण पौडेलको सन्तानको रुपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको हो । नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय उहाँ २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सभापति निर्वाचित हुनुभएको थियो । 

    लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उहाँ २०६४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापति हुनुभएको थियो । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७९ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा उहाँले जेल सजायसमेत भोग्नुभएको थियो ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ