काठामाडौं : केन्द्रमा समीकरण बदलिएर नेपाली कांग्रेस र नेकपा एमालेसहितको नेतृत्वमा सरकार बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेशहरूमा पनि परेको छ ।
कर्णाली प्रदेशमा यसअघि नेकपा माओवादीबाट बनेका मन्त्रीहरूले नयाँ गठबन्धनलाई सहजता प्रदान गर्न सरकारबाट बाहिरिने तयारी गरेका हुन् । मुख्यमन्त्री यामलाल कँडेल सङ्घीय राजधानी काठमाडौँ भएकाले मन्त्रीहरू मुख्यमन्त्रीको प्रतीक्षामा छन् । ०८० चैत्र २७ गते नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए ।
८ सदस्यीय मन्त्रिपरिषद्मा माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रणसिं परियार छन् । ऊर्जामन्त्री परियार वैशाख १२ र बाँकी मन्त्रीहरू वैशाख १८ मा नियुक्त भएका थिए ।



