काठमाडौं : भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।



